सिन्धुलीको गोलन्जोरमा साबुन उद्योग सञ्चालन भएको छ । गाउँपालिकाको वडा नम्बर ३ ग्वाल्टारमा गत असोजबाटै सञ्चालनमा आएको गोलन्जोर सिता सावुन उद्योगको उद्घाटन आइतबार गरिएको हो ।
स्थानिय ४ जना युवाहरुले १५/१५ लाख रुपैँयाको लगानीमा उद्योग सञ्चालन गरिरहेका छन् । स्थानिय गोकर्ण चौहान, ओम पुलामी मगर, लाल मगर र सन्तोष मगरले कुल ६५ लाख रुपैँयाको लगानीमा उद्योग सञ्चालन गरिरहनुभएको हो ।
सावुन उद्योगमा लुगा धुने सावुन उत्पादन गरिन्छ । उद्योग स्थापनाको पाँच महिनाको अवधिमा १५ लाख रुपैँया बराबरको उत्पादन बिक्रि गरिएको उद्योग सञ्चालक ओम पुलामी मगर बताउनुहुन्छ र्। हामीले १६ लाखमा सावुन बनाउने मेसिन ल्याएर सुरु गरिएको हो, अहिले सम्म १५ लाख जतिको सावुन बिक्रि भैसकेको छ, उहाँले भन्नुभयो ।’
उद्योगमा अहिले २५० ग्राम र ३०० ग्रामको सावुन उत्पादन भैरहेको उद्योग सञ्चालक मध्यका पुलामी सुनाउनुहुन्छ । उहाँले उत्पादन भएका सावुन गोलन्जोर गाउँपालिका, जिल्लाका अन्य पालिकाहरु तथा छिमेकी रामेछाप जिल्लामा समेत बिक्रि गर्ने गरिएको बताउनुभयो । उत्पादन भएका सावुन बजारीकरणको समस्या नभएको उहाँले उल्लेख गर्नुभयो । उद्योग संचालक युवाको समुहले आफ्नो उत्पादनलाई स्थानिय सरकारले प्रवर्धन गर्न सघाउने पर्ने जनाएको छ ।
उद्योगले सावुन उत्पानमा आवश्यक पर्ने कच्चा पदार्थ विरगंज, काठमाडौं लगाएतका सहरबाट ल्याउने गरेको छ । सञ्चालक युवाहरु र परिवारको सहयोगमा संचालित उद्योगलाई थप विस्तार गर्ने जनाइएको छ । अव उद्योगबाट भाँडा धुने सावुन तथा सरफ लगाएत पनि उत्पादन गर्ने लक्ष्य रहेको संचालक पुलामीले बताउनुभयो ।
उद्योग स्थापनाले आय–आर्जनमा सहयोग पुग्ने मात्रै नभई रोजगारीको श्रीजना हुने समेत अपेक्षा गरिएको छ । युवाहरु यसरी आफ्नै गाउँठाउँमा उद्योग सञ्चालनमा लाग्दा रोजगारका लागि विदेश जानुपर्ने बाध्यतामा रहेका युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
स्वदेशमै रोजगारी गर्नुपर्छ भन्ने भावनाले उद्योग स्थापना गरिएको उद्योग संचालकमध्यका पुलामीको भनाई छ ।