प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन पुगेको छ ।
सरकारको सय दिनलाई ’हनिमुन अवधि’ भनिन्छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सय दिन भने नयाँ गठबन्धन बनाउने, भत्काउने र पुरानै गठबन्धनमा फर्किने राजनीतिक चलखेलमै बितेको छ ।
यसबिचमा प्रधानमन्त्री प्रचण्डले संसदबाट दुई पटक विश्वासको मत लिनुभएको छ । उहाँ गएको पुस १० गते प्रधानमन्त्री बन्नुभएको थियो ।
सरकारले आफ्नो सय दिनको अवधिमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवाको नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको कुरालाई पुष्टि गर्ने दाबी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले १०० दिनको कामलाई ३७ बुँदामा समेटेको छ ।