काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै कार्यकालमा दोस्रो पटक विश्वासको मत लिदै हुनुहुन्छ । सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रम छ । सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।
गठबन्धन टुटेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्रीलाई चैत १२ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
पहिलो पटक नेकपा एमालेलगायतका दलहरूको समर्थनमा सरकार बनाउनुभएका प्रचण्डले सदनमा उपस्थित सङ्ख्याको झन्डै ९९ प्रतिशत सांसदको विश्वास मत पाउनुभएको थियो। तर एमालेसँगको गठबन्धन तोडेपछि यो पटक प्रधानमन्त्रीले एमालेलगायतका केही दलको मत नपाउने अवस्था छ। सरकारबाट बाहिरिएको राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ।
प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र)सँगै यो पटक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतको समर्थन छ। कुल २७५ सदस्यीय प्रतिनिधि सभाको बहुमतसहित प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुने छ। विश्वासको मतका लागि प्रधानमन्त्रीलाई १३८ सांसद आवश्यक पर्नेछ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ सिट छ। यस्तै कांग्रेसको ८९ सिट भए पनि एक जनाको मताधिकार छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको तीन सिट छ। यस्तै जनमोर्चाको एक सिट प्रतिनिधि सभामा छ। वर्तमान गठबन्धनको मतअनुसार प्रधानमन्त्री प्रचण्डलाई बहुमतका लागि सहज अवस्था छ।