गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बने रामचन्द्र पौडेल

राजनीति बिहिबार फाल्गुन २५, २०७९

काठमाडौं । मुलुकले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भएको हो । उहाँले संख्याका हिसावले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु भएको हो ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मत दिएका थिए ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनु भयो । उहाँले संख्या हिसावले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाउनुभयो । संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् ।

यसैगरी प्रदेशसभातर्फ ५५० मध्ये ५१८ सदस्यले मतदान गरेका छन् । ३२ जनाको मत नखसेकामा राप्रपाका २८ छन् भने थप चारजना मतदानमा अनुपस्थित भएको देखिन्छ ।

राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसद गरी संघीय संसद्‌मा ३३४ कुल सदस्य छन् । तीमध्ये एकजना निलम्बित, एकको निधन भएको, एकजना पदमुक्तसमेत गरी तीनजना घटाउँदा कुल मतदाता संख्या ३३१ थियो ।

राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिए पनि राष्ट्रप्रमुखका रुपमा अभिभावकीय भूमिका होस् भन्ने संविधानले चाहेको देखिन्छ । त्यसैले कुनै विषयमा प्रधानमन्त्री, मन्त्रिपरिषद् वा संसद्ले नै गल्ती गरेको लागेमा परामर्श गरी सच्याउन भन्ने अधिकार राष्ट्रपतिलाई छ ।

संविधानले नै नदिएको अधिकार राष्ट्रपतिले प्रयोग गर्न खोजमा भने विवाद आउने गरेको छ । जुन संविधानको मर्मविपरीत हो । राष्ट्रपतिले त्यो भूमिका निर्वाह गर्दा राज्यका निकायहरुकै बीचमा समेत असन्तुलन आउन सक्छ । नवनिर्वाचित राष्ट्रपतिका अगाडि संवैधानिक भूमिका निर्वाहका लागि कस्ता छन् त चुनौती ।

 

Leave a Comment