राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो ।
मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका दलका सांसद उपस्थित भएका छन् । राष्ट्रपतिका उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि मतदान गर्नुभएको छ । पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ ।
नयाँ राष्ट्रपतिको चुनावका लागि सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । बेलुका ८ बजेभित्र परिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी रहेको छ ।
राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।
यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार एक सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार चार सय गरी कुल मतभार ५२ हजार पाँच सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार दुई सय ७५ मतभार ल्याउनुपर्छ । सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका छन् ।
चितवनको निर्वाचन क्षेत्र २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिनअघि निधन भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।