राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध

NFM TV बिहिबार फाल्गुन २५, २०७९

गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रप्रमुखको निर्वाचन आज हुँदै छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(एमाले) का उमेदवारले प्रतिष्पर्धा गर्दै छन् । निर्वाचन प्रक्रिया अहिले बिहान १० बजेबाट संघीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदै छ । निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ भने,आजै नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

नतिजा सार्वजनिक हुनेबित्तिकै नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउनेछ । निर्वाचनमा ८८२ मतदाताले भाग लिने आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेसबाट उमेदवारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । यस्तै, नेकपा(एमाले)को तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेदवार छन् । कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् । कांग्रेस बाहेक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले सहयोग गरेका छन् । यता, एमाले उमेदवार सुवास नेम्वाङलाई भने अन्य दलले सहयोग गरेका छैनन् । राष्ट्रपतिमा दुवै उमेदवार पूर्वसभामुख हुन् ।

२०५१ सालको संसद्मा कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख बनेका थिए । यस्तै, नेम्वाङ २०६४ र २०७० को संविधान सभा अध्यक्ष हुन् । उनी ०६३ मा पुनर्स्थापित संसद्को सभामुख हुन् ।

आज हुने राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ । मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ । गोप्य मतदान भएकाले तस्विर खिच्न नपाइने भएकाले मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध लगाएको छ । यसो गरेको पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभयो ।

Leave a Comment