काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रप्रमुखको निर्वाचन आज हुँदै छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(एमाले) का उमेदवारले प्रतिष्पर्धा गर्दै छन् । निर्वाचन प्रक्रिया बिहान १० बजेबाट संघीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदैछ ।
निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ भने,आजै नतिजा सार्वजनिक गर्ने जनाएको छ । नतिजा सार्वजनिक हुनेबित्तिकै नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउनेछ ।
निर्वाचनमा ८८२ मतदाताले भाग लिने आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेसबाट उमेदवारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । यस्तै, नेकपा(एमाले)को तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेदवार छन् । कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् ।
कांग्रेस बाहेक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले सहयोग गरेका छन् ।
यता, एमाले उमेदवार सुवास नेम्वाङलाई भने अन्य दलले सहयोग गरेका छैनन् । राष्ट्रपतिमा दुवै उमेदवार पूर्वसभामुख हुनुहुन्थ्यो । २०५१ सालको संसद्मा कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख बन्नस भएको थियो । यस्तै, नेम्वाङ २०६४ र २०७० को संविधान सभा अध्यक्ष हुनुहुन्थ्यो । उहाँ ०६३ मा पुनर्स्थापित संसद्को सभामुख बन्नु भएको थयो ।
कति मत पाउँदा बहुमत पुग्छ ?
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा ८ सय ८१ मतदाता छन् । राष्टियसभाका ५९ र प्रतिनिधिसभाका ३ सय ३१ सांसदहरुले मतदान गर्दैछन् भने प्रदेशसभाका ५ सय ५० जना मतदाता छन् ।
प्रतिनिधिसभाका २ सय ७५ सदस्य मध्ये एक रिक्त, एक निलम्वित र एकजनाको मृत्यु भएका कारण तीन सदस्य खाली छन् । चितवन २ का सांसद रवि लामिछाने पदमुक्त भएका छन् भने मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्वित छन् । जसपा सांसद रहनाज रहनाजको मतदाता सूचीमा नाम रहे पनि मृत्यु भएको छ ।
एकजना संघीय सांसदको मतभार ७९ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपति निर्वाचनको जम्मा मतभार ५२ हजार ६ सय २८ हो । बहुमतका लागि २६ हजार ३ सय १५ कटाउनुपर्नेछ ।
संघीय संसदका ३ सय ३२ सांसदको जम्मा मतभार २६ हजार २ सय २८ भने प्रदेशसभा सदस्य ५ सय ५० को जम्मा मतभार २६ हजार ४ सय रहेको छ । राष्ट्रपति पदमा निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने छ ।
कुनै पनि उमेदेवारले ५० प्रतिशत नकटाएको खण्डमा पुनः मतदान हुनेछ । पुनः मतदानमा ५० प्रतिशत ल्याउनुपर्ने हुन्छ । दोस्रो पटकमा पनि ५० प्रतिशत नकटाए तेस्रो पटकको निर्वाचनमा धेरै मत ल्याउने उम्मेदवार विजयी हुनेछ ।