शिक्षामा स्थानिय सरकारको आकर्षक योजना, विद्यार्थीलाई प्रोत्साहन गर्दै

मुख्य खबर सम्झना श्रेष्ठ आइतवार फाल्गुन २१, २०७९

पछिल्लो समय स्थानिय तहहरुले शिक्षालाई प्रथमिकता दिन थालेका छन् । विद्यार्थीलाई शिक्षामा आकर्षित गर्न विभिन्न योजनाहरु अघि सारिरहेका छन् ।

पालिकाहरु दिवा खाजा, टाढाका विद्यार्थीहरुका लागि स्कुल बसको व्यवस्था, प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गर्ने जस्ता योजनामा केन्द्रित भएका छन् । विशेषगरि सामुदायिक विद्यालयहरुलाई अव्वल बनाउन स्थानिय पालिकाहरुले प्रयास गरिरहेका छन् ।

काभ्रेपलान्चोकको तेमाल गाउँपालिका वडा नंं २ मा रहेको सर्वोद्वार माध्यमिक विद्यालयबाट यो वर्ष १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदैछन् ।

एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई वडाले प्रोत्साहन रकम दिने निर्णय गरेको वडा अध्यक्ष देवराज तामाङ बताउनुहुन्छ । वडा नम्बर २ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ए प्लस ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ दिने भएको अध्यक्ष तामाङको भनाई छ ।

वडा समितिले एसईईमा ९० वा त्यो भन्दा माथिको स्तरीकृत अङ्क ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ, ८० वा सोभन्दा माथि ९० भन्दा कम अर्थात ग्रेड ए ल्याउने विद्यार्थीलाई ७५ हजार रुपैयाँ र ७० वा सो भन्दामाथि ८० भन्दा कम अर्थात् बी प्लस ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँ पुरस्कार स्वरुप दिने निर्णय गरिएको छ ।

काभ्रेको तेमाल गाउँपालिका २ ले मात्र होइन, सिन्धुलीको मरिण गाउँपालिकाले पनि बालविवाह न्यूनीकरण गर्न छोरीको शिक्षामा लगानी गर्ने जनाएको छ । पालिकाले विवाह नगर्दै स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई नगद १ लाख रुपियाँ दिने कार्यक्रम अघि सारेको उपाध्यक्ष विमला माझी बताउनुहुन्छ । यस्तै एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल प्रदान गर्ने कार्यक्रम ल्याएको जनाइएको छ ।

शिक्षामा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले अर्काे प्रयास गरेको छ । पालिकाले विद्यालयहरूमा बाँडिने दिवा खाजामा गाउँमै फलेका अन्नबालीको प्रयोग गर्ने निर्णय गरेको छ । दिवा खाजामा कोदो‚ मकै र फापरको ढिंडोका साथै सिमी, बोडी, मस्याङका परिकार पनि समावेश गरिने गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्यांतानले बताउनुभयो ।

‘हप्ताको एकदिन विद्यार्थीहरुको दिवा खाजामा स्थानिय अन्नबालीको प्रयोग गर्न लागेका छौँँ, उहाँले भन्नुभयो । ’ पालिकाले स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने नीति अनुसार स्थानीय रूपमा उत्पादित बालीको खपतका लागि यस्तो कदम चालिएको अध्यक्ष स्यांतानको भनाई छ ।

गाउँपालिकामा रहेका ३८ वटा सामुदायिक विद्यालयमा ६ हजार ७४ विद्यार्थी छन् । ती विद्यालयमध्ये बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि संघीय सरकारको अनुदानमा दिवा खाजा खुवाइन्छ । गाउँपालिकाले भने कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूलाई आफ्नै स्रोतबाट दिवा खाजा खुवाउँदै आएको छ । अध्यक्ष स्यांतानले बालबालिकालाई स्थानिय बालीको बारेमा जानकार बनाउनलाई पनि यस कार्यले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा विद्यार्थीको आकर्षण बढाउन तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यालयहरूलाई बस सुविधा दिने भएको छ ।

आगामी शैक्षिक सत्र २०८० देखि गाउँपालिकाका जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेर प्रशंसा कमाएको पालिकाले सहज रूपमा विद्यार्थीलाई शिक्षा उपलब्ध गराउन बसको व्यवस्था गर्ने निर्णय गरेको हो । आगामी शैक्षिक सत्रबाट सुविधा दिनका लागि बस खरिद गर्न ६५ लाख रुपियाँ बजेट विनियोजन गरी प्रक्रिया अघि बढाइसकिएको पालिकाले जनाएको छ ।

बालबालिकाको शिक्षामा केही स्थानिय पालिकाहरुले सुरु गरेका सकारात्मक अभ्यासलाई अन्य स्थानिय तहहरुले पनि सिक्न र व्यवहारमा उर्तान आवश्यक देखिन्छ ।

 

Leave a Comment