शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरू हुँदै

Breaking शुक्रबार फाल्गुन १९, २०७९

शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरू हुँदैछ । आज साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । ‘ए’ डिभिजन क्लबहरुबीच हुने लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा गरी तीन वटा मैदानमा प्रतियोगिताका खेलहरु हुनेछन।

अघिल्लो सिजन भन्दा यसपटक फ्रेन्ड्स क्लब बलियो देखिएको छ, अनुभवी खेलाडी प्रकाश बुदाठोकी, लक्ष्मण रुचाल, अमित तामाङ, बुद्ध चेम्जोङ असिम भुसाल र रुपेश केसी टोलीमा छन् । अघिल्लो वर्षभन्दा यो वर्ष टोली राम्रो बनेको छ । त्यस्तैगरी एफ सी खुमलटार पनि अफ्रिकी मुलुकका स्टार खेलाडी मेसुके ओलुमोउ र स्टेफन बिनोंगको साथमा प्रतियोगिताको दाबेदारको रुपमा उभिएको छ ।

यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ नगर पुरस्कार पाउने छन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् । मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलका विजेता क्लबले म्याच मनी बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिने छ । हरेक खेलमा म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने छन् । लिग तीन महिना संचालन हुनेछ ।

Leave a Comment