नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको ४९ वर्षीय चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ ।
ललितपुर महानगरपालिका–२२ वुङ्गमतीस्थित ‘कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी’ सञ्चालन गरी बस्दै आएका उनले नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौं बोलाइ यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो ।
प्रहरी उपरीक्षक थापाका अनुसार यसरी काठमाडौं ल्याएका बालिकालाई मिङले सुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौंमा खाने, बस्ने खर्चसमेत उनी आफैँले व्यहोर्ने गरेको पनि खुलेको छ ।