आफ्नो पक्षमा समर्थन जुटाउन उम्मेदवारको दौडधुप, सत्तामा हलचल

मुख्य खबर NFM संवाददाता आइतवार फाल्गुन १४, २०७९

काठमाडौं । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउने पहल थाल्नुभएको छ । कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिनुभएका पौडेलले मोर्चाबाहिरका दलसँग समर्थन माग्दै भेटवार्ता थाल्नुभएको हो । उहाँले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गर्नुभएको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्ना उम्मेदवार नेम्वाङलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले कांग्रेसबाहेक संसदमा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई पत्र पठाएको जानकारी दिनुभयो । राष्ट्रपतिको लागि आउँदो २५ गते मतदान हुँदैछ । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६ सय २८ को बहुमत २६ हजार ३ सय १५ मतभार आवश्यक पर्छ ।

सत्ता फेरबदल
केन्द्र सरकारमा सत्ता फेरबदलको प्रत्यक्ष असर प्रदेशहरुमा पर्न थालेको छ । पुष १० मा बनेको गठबन्धन सरकारको नेतृत्वमा सरकार बनेका प्रदेशहरुमा सत्ता समिकरण बदलिने देखिएको छ । खासगरि एमाले नेतृत्वमा सरकार बनेका प्रदेशहरुमा सरकार संकटमा देखिँदा सुदुरपश्चिम प्रदेशमा काँगे्रस नेतृत्वको सरकारलाई विश्वासको मत लिन सहज हुने देखिएको हो ।

बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापासँगै पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाउनुभएको हो ।

हिजो बागमती प्रदेशबाट बाहिरिएको राप्रपपा आज प्रदेश १, गण्डकी, लुम्विनी प्रदेशबाट पनि बाहिरिने पार्टीका महामन्त्री धवलसमशेर राणाले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो ।।

Leave a Comment