काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको हो । आयोगका अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ । आज नै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिन सकिनेछ । त्यसमा भोलीसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ ।
दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ ।
शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । निर्वाचन भने फाल्गुण २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् ।
झनझन पेचिलो बन्दै
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको छलफल, प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप राजनीति पेचिलो बन्दै गएको हो । राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।
निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा भइरहेका छलफलले नयाँ समीकरण बनाउने र भत्काउने खेलमा अहिले शीर्ष नेताहरू रणनीतिक रूपमा सक्रिय छन् । कुन दल र को राष्ट्रपति हुने भन्ने कुरा निश्चित हुन अझै केही समय लाग्ने छलफलमा जुटेका नेताहरूको धारणा छ ।