आज ग्याल्पो ल्होसार । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
शेर्पा समुदायले नयाँ वर्षको रुपमा मंगलबार २१५० औं ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ल्होसार मनाउने गर्दछन् ।
ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ ।
मुसाबाट सुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ । यो वर्षचाँही पानी खरायोको वर्ष हो ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।
पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।
ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।