काठमाडौं । अहिले देशको राजनीति नै राष्ट्रपति निर्वाचनको वरिपरि घुमिरहेको छ । दलहरु दिनरात नभनी छलफलमा जुटिरहेका छन् । सबैको ध्यान आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नेमा केन्द्रित छ । राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले सघाउनेमा नेपाली कांग्रेस ढुक्क देखिएको छ । सत्ता गठबन्धन बाहिरको उम्मेदवारलाई माओवादीले साथ दिनेमा भने गठबन्धनकै अर्को मुख्य घटक नेकपा एमाले विश्वस्त हुन सकेको छैन ।
नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे निर्णय लिने अधिकार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले गणतन्त्र र संविधानको रक्षा तथा शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्नु पार्टीको एजेण्डा भएको निष्कर्ष निकालेको छ ।
तर, आइतबार राति अबेरसम्म माओवादीका नेताहरुसँग बालुवाटारमा छलफल गरेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सघाउने वचन माओवादीले दिएको दाबी गरेको छ । निर्वाचनअघिको गठबन्धन, चुनावी तालमेल तथा प्रधानमन्त्रीलाई विश्वासको मत लगायत कारणले कांग्रेसलाई राष्ट्रपति दिन माओवादी तयार भएको उसको दाबी छ । आइतबार राति दुई दलबीच सहमति भइसकेको र सोही अनुसार उम्मेदवारी दर्ता गरिने कांग्रेसले जनाएको छ ।
माओवादीले साथ दिने वचन दिए पनि कांग्रेसले उम्मेदवार भने निश्चित गरिसकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्ण सिटौला राष्ट्रपतिका आकांक्षी छन् । दुइज्ना मध्येबाटै एक जना हुने नेता रमेश लेखकले जानकारी दिनुभयो । कांग्रेसकै केही नेताले भने सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपति बनाउनुपर्ने बताउन थालेका छन् । दाहालको बचनपछि कांग्रेस पुरानो गठबन्धन ब्युँताउने गृहकार्यमा लागेको छ ।
सत्ता गठबन्धनको मुख्य दल एमालेले भने पुस १० को सहमति अनुसार नै माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सहयोग गर्नुपर्ने अडान राखेको छ । उसले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे पनि विभिन्न कोणबाट छलफल गरिरहेको छ ।
एमालेले पनि राष्ट्रपतिको उम्मेदवार तय गरिसकेको छैन । कांग्रेस र माओवादीबीच बढ्दो सम्बन्धबाट सशंकित एमालेले पार्टी बाहिरको पात्रलाई राष्ट्रपतिमा अगाडि सार्ने सम्भावना पनि रहेको केही नेताको दाबी छ ।