नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रका नेता मातृका यादवले बताउनुभयो । उहाँका अनुसार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ ।
फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।
कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिनुभएको थियो ।
२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।
पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ ।