काठमाडौं । आगामी २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ, त्यसअघि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिको उम्मेदवार को बन्ने भनेर राजनीति गर्माएको छ । कतिपयले राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्का समेत गर्दै आएका छन् । सत्तारुढ एमाले राष्ट्रपति निर्वाचन लाई लिएर सत्ताच्युत हुने चिन्तामा छ भने माओवादीको समर्थन पाएमा कांग्रेस केन्द्रीय सत्तामा छिर्ने प्रयासमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेस राष्ट्रपति आफुले पाउनुपर्ने अडान कायमै राखिरहेको छ । यतिबेला काँगे्रस पुरानो गठबन्धन ब्यूँताउने रणनितिमा छ । फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धमा फेरबदल ल्याउने काँगे्रस महामन्त्री गगनकुमार थापाले सार्वजनिक रुपमै अभिव्यक्ति दिनुभयो ।
सत्ताको सबैभन्दा ठुलो दल नेकपा एमाले राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवारमैै राष्ट्रिय सहमति हुनुपर्ने अडानमा टसमस गर्न चाँहदैन । तर, प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिचको दर्जनौँ छलफलबाट कुरा मिल्न भने सकेको छैन । गठबन्धन जोगाउने मुख्य जिम्मेवारी प्रधानमन्त्रीको भएको र गठबन्धन भत्काउन भइरहेका षड्यन्त्रलाई चिरेर अघि बढ्ने एमाले नेता विशाल भट्टराईको दावी छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकै आधारमा काँगे्रसप्रति माओवादी केन्द्र उदार बनेपछि एमाले संशकित बनिरहेको छ । तर, सत्ता गठबन्धन भत्काउने पक्षमा आफुहरु नरहेको माओवादी नेता हिमाल शर्माले बताउनुभयो ।
दलहरुबिच राष्ट्रपतिको विषयले मतभेद बढाएरहेका बेला राजनितिक पृष्ठभुमी बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने पनि चर्चा छ । दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने कतिपयको विश्लेषण छ, राजनितिक विश्लेषक जैनेन्द्र जिवन । सत्ता गठबन्धन र राष्ट्रपति निर्वाचन धेरैका लागि प्रतीक्षाको विषय बनेको छ ।