काठमाडौं ।आमनिर्वाचनमा आफ्नो दलले भोगेको पराजय र नयाँ शक्तिको उदयबाट धक्का खाएका केही वामपन्थी दलले ‘विचार मिल्नेसँग एकता गर्ने’ भन्दै गोप्य र खुला छलफल गरिरहेको छन् । नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादी र जनता समाजवादीले एकताका लागि कार्यदल नै बनाएका छन् । कहाँ पुग्यो एकताको प्रक्रिया ?
नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ताको पहल गर्न उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनायो । बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले पनि कार्यदल गठन गर्यो । दुई कार्यदल छलफलमा बसेपछि चुनाव चिह्न र पार्टीको नाम फेर्न सहमतिनजिक पुगेका छन् । तर, नाम टुंगो लागेको छैन । दुई दलले छलफल गर्दा गर्दै मधेस केन्द्रित दल जनता समाजवादी र एकीकृत समाजवादीका बीचमा पनि एकताका लागि कार्यदल बनेर धेरै पटक वार्ता भइसकेको जनता समाजवादीका नेता रकम चेम्जोङको भनाई छ ।
दुई दल छलफल गर्दा गर्दै माओवादी सहितको एकताको कुरा निस्कियो अहिले दुईदलको छुट्टै छलफल चार दलमा मिसिएर छ । एकीकृत समाजवादीको छलफल जनता समाजवदाीसँगै माओवादीसँग बाक्लिएको छ । नेता वेदुराम भूषालका अनुसार सकेसम्म दुईपार्टी एकता नत्र साझा मोर्चा भन्नेमा छलफल चलिरहेको छ ।
एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी र अघिल्लो चुनावको तुलनामा अहिले कमजोर बनेको जसपा मिल्दा संसदमा चौथो ठूलो दल बन्ने र शक्ति बाँडफाँडका लागि बल पुग्ने उनीहरुको निचोड छ । माओवादीसहित मिसिएर एकता गर्दा शक्ति झन बढ्ने छ । माओवादी केन्द्र र एकीकृत समाजवादी कार्यदिशामा नजिक रहेपनि जसपा फरक धारमा छ । सबैका विचार र कार्यदिशालाई आधार मानेर वार्ता भइरहेको माओवादी एकता कार्यदलका सदस्य शक्ति बस्नेतले जानकारी दिनुभयो ।
अहिले एकताको अन्तिम तयारीमा रहेपनि नामको विषय पेचिलो बनेको छ । कम्युनिष्ट केन्द्र भन्ने वा माओवादी र समाजवादी दुईटै राख्ने भन्नेमा बहस चलिरहेको छ । फरक फरक रुपमा छलफल गरेपनि अहिलेसम्म चारैदलको साझा छलफल भने जुराउन सकेका छैनन ।
माओवादी एमालेसँग मिलेर सरकारमा छ । एमालेसँग राजनीतिक दुस्मनीका रुपमा रहेको एकीकृत समाजवादी बाहिरै छ । जसपा पनिप्रचण्डसँग असन्तुष्ट देखिन्छ । यो स्थितिमा पार्टी एकताका लागि कार्यदल बनेपनि धेरै सहज भने देखिदैन ।