राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्यो

मुख्य खबर सोमवार माघ २३, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा बाहिरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिनुभएको थियो भने आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टीका अन्य तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । तर रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्दै सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्नेमा आफू रहेको बताउनुभयो ।

त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उहाँको भनाइ थियो । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताउनुभयो ।

Leave a Comment