राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय सभा उपाध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । सत्ता गठबन्धनले पनि आजै उम्मेदवार तय गर्ने तयारी गरेको छ ।
यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहनुभएका शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष पद खाली रहेको थियो । २०७५ साल असार ४ गते राष्ट्रियसभाका सदस्यहरूको कार्यकालका लागि भएको गोलाप्रथामा उपाध्यक्ष दाहाललाई ४ वर्षे कार्यकालको चिठ्ठा परेको थियो ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भने गोलाप्रथा गर्दा ६ वर्षको चिठ्ठा परेका कारण उहाँको अझै १ वर्ष कार्यकाल बाँकी नै रहेको छ ।