काठमाडौं । तपाई विदेशबाट फर्केर केही उद्यम गर्दै हुनुहुन्छ ? त्यसो हो सरकारले नगद पुरस्कारसहित सम्मान गर्दैछ तत्काल निवेदन दिनुहोला । वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेकाहरूलाई राष्ट्रिय सम्मान गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन आह्वान गरेको हो ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई उनीहरूको योगदानको कदर स्वरूप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्नका खोजिएको मन्त्रालयले जनाएको छ ।
उद्यमीहरूले यही माघ १९ गतेसम्म मन्त्रालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा विदेशमा एक वर्ष काम गरी स्वदेश फर्किएको हुनु पर्ने छ भने वैदेशिक रोजगारीबाट नेपाल फर्किएर व्यवसाय सञ्चालन गरेको पनि एक वर्ष पूरा भएको हुनुपर्छ ।
यस्तै मन्त्रालयबाट बितेका पाँच वर्षमा यस खालको पुरस्कार पाएको हुनुहुँदैन । फारम भर्दा नेपाली नागरिकताको फोटोकपी, श्रम स्वीकृतिको फोटोकपी, भिसासहित राहदानीको फोटोकपी, व्यवसाय दर्ता प्रमाणपत्रको फोटोकपी र आयकर दर्ता प्रमाणपत्रको फोटोकपी आवश्यक पर्छ । यसका साथै २०७८ ७९ को कर चुक्ता प्रमाणपत्रको फोटोकपी र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि साथमा हुनुपर्छ । अघिल्ला वर्षहरूमा यही पुरस्कारको लागि आवेदन दिएको तर छनौटमा नपरेका उद्यमीहरूले समेत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।