नेकपा माओवादी र नेपाल एसबीच एकताको लागि औपचारीक प्रक्रिया सुरु

मुख्य खबर NFM संवाददाता बुधबार माघ ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकताको लागि औपचारीक प्रक्रिया अघि बढेको छ । अब शीर्ष तहमा वार्ता हुने भएको छ । दुई पार्टीको वार्ता टोलीमा छलफल भएपछि अब शीर्ष तहमा वार्ता हुने भएको हो । नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् ।

महरा र श्रेष्ठ नेतृत्वको वार्ता टोलीले गत शनिबार र मंगलबार गरी दुई पटक पार्टी एकताका विषयमा छलफल गरेका छन् । अब दुवै पार्टीबाट शीर्ष तहबाट छलफल गरेर पार्टी एकताको टुंगो लगाउने तयारी गरिएको जनाइएको छ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष बाबुराम भट्टराईबीच छलफल भएपछि दुई पार्टीको एकताको काम टुंगो पु¥याउने ती सदस्यले बताउनुभयो ।

प्रचण्ड बाबुरामबीच एकता भएपछि पार्टीको नाम माओवादी केन्द्र नहुने जनाइएको छ । पार्टीको नाम समाजवादी हुने भएपनि नेकपा जोडिने वा नजोडिने भन्नेमा टुंगो लागेको छैन ।

पार्टी एकताका विषयमा माओवादी स्थायी समिति र केन्द्रीय समितिमा छलफल गरेर टुंगो लाग्ने बताएको छ । माओवादीले स्थायी समिति बैठक माघ १२ गते राखेको छ । स्थायी समिति बैठक सकिएलगत्तै केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।

Leave a Comment