राष्ट्रपति पदका लागि उम्मेदवारी दिने कांग्रेसको निर्णय

मुख्य खबर सोमवार माघ ९, २०७९

काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । साथै कांग्रेसले राष्ट्रपति चुनाव समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति चुनावको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । संविधान र ऐनमा यस चुनावबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाइ समयमै राष्ट्रपतिको चुनाव हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकताबद्ध हुन पार्टीका नेताहरुलाई सचेत गराउनु भएको थियो ।

Leave a Comment