बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका शिशुको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका शिशुको मृत्यु भएको हो। शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो । ती शिशुमा दादुराको लक्षण ज्वरो आउने, शरिरका विभिन्न भागमा राता–राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेका थिए। वडा नम्बर ५ मा ८ जना बालबालिकामा उच्च ज्वरोसहित दादुराका लक्षण देखा परेको बताइएको छ । सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो। दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ। नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन्।