काठमाडौं । एकजना स्वतन्त्र सांसद एमालेमा प्रवेश गर्नु भएको छ । योसँगै एमालेका सिटसंख्या थप भएको छ । गत मंसिर ४ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट–२ का विजयी हुनु भएका स्वतन्त्र सांसद किरण कुमार साह नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ बालकोटमा स्वतन्त्र सांसद साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा एमालेमा प्रवेश गराउनु भएको हो ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सता गठबन्धनका उम्मेदवार तथा पूर्व मन्त्री हाल नख्खु कारागारमा रहेका मोहम्मद आफताव आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी हुनु भएको थियो । उहाँ २०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नु भएको थियो ।
गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधि सभा सदस्यको टिकट पाउनु भएपछि उहाँले एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।