सरकार गठनको गृहकार्य, देउवा र प्रचण्ड आफै प्रधानमन्त्री हुने रणनीतिमा

मुख्य खबर शुक्रबार पुस ८, २०७९

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरु सरकार गठनको गृहकार्यमा लागेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एस आज औपचारीक रुपमा छलफल गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा पर्सीसम्म सरकार गठन गरिसक्न भोलिसम्ममा सहमति भइसक्नु पर्नेछ । पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र त्यसपछि लोसपासहितका दलसँग छलफल गर्ने तयारी छ ।

कांग्रेसका ८९, माओवादीका ३२, एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनमोर्चाका १ गरी पाँच दलीय गठबन्धनसँग १ सय ३६ सांसद छन् । यो गठबन्धनलाई बहुमत जुटाउन दुई सांसद अपुग भएको अवस्था छ ।

६ सिट रहेको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । तर, प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले अडान नछाडेकाले सहमति भइसकेको छैन । सरकार पहिलो कार्यकाल आफै प्रधानमन्त्री बन्ने अडानमा रहनु भएका देउवा र प्रचण्ड आफू अनुकुलको रणनीति बनाइराख्नु भएको छ ।

हिजोको छलफलमा आफुलाई प्रधानमन्त्री दिने विषयमा आजसम्म जवाफ दिन प्रचण्डले देउवालाई भन्नु भएको छ । गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र बाहिरका दल आफ्नो पक्षमा रहेको भन्दै प्रचण्डले बार्गेनिङ पावर बढाएको कांग्रेस नेताहरुको बुझाइ छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र सात प्रदेशका मुख्यमन्त्री प्याकेजमा टुङ्ग्याएर पहिलो चरणमै आफू प्रधानमन्त्री हुनुपर्ने प्रचण्डको अडान छ ।

तर कांग्रेस सभापति देउवाले पनि आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पारदर्शी रुपमा नै लिखित सम्झौता गरेर पहिलो कार्यकाल आफै प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव गर्नुभएको छ । आज सहमति जुटाउन दिनभरी नै छलफल हुनेछ ।

Leave a Comment