संसदीय दलको नेतामा देउवा विजयी, गगन भारी मतले पराजित

मुख्य खबर बुधबार पुस ६, २०७९

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनु भएको छ । आज बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याउनुभयो भने महामन्त्री गगन थापाले २५ मत पाउनुभयो । कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नुभएका देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा गर्नुभएको हो ।

कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ । वि स २०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सार्नु भएको थियो । दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बन्नु भएको छ । हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पु¥याएर प्रधानमन्त्री बन्ने दाउमा हुनुहुन्छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ । आज बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो । उहाँले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभयो । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत ल्याएर विजयी बन्नुभएको हो ।

गगन थापा मन्त्री नबन्ने

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पार्नुभएको छ । संसदीय दलको नेता छान्न आज भएको चुनावको परिणामपछि अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत थापाले बताउनुभयो ।

संसदीय दलको नेताका प्रतिस्पर्धी रहेका थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई समेत दिनुभएको छ । संसदीय दलको चुनावमा देउवाले ६४ र थापाले २५ मत प्राप्त गर्नुभएको थियो । आफूले पाएको मत अपेक्षाभन्दा कम भएको पनि थापाको भनाई छ ।

Leave a Comment