काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम आइसकेकाले अब संसद बैठक बस्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गरेपछि संसदीय प्रक्रिया सुरु हुनेछ र सरकार गठनको प्रक्रिया पनि अगाडी बढ्नेछ ।
अहिलेसम्मको तयारी अनुसार पुसको पहिलो हप्ता प्रतिनीधिसभाको बैठक बस्नेछ ।
प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुले आफू मध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् । प्रधानमन्त्री छान्नुअघि संसदको बैठक बस्नेछ र त्यसले सभामुख चयन गर्नेछ । जेष्ठ सदस्यले नै सपथ गराउने ब्यवस्था छ ।
संसदको पहिलो बैठकमा जेष्ठ सदस्यले संसद आह्वानको पत्र पढेर सुनाइसकेपछि ज्येष्ठ सदस्यबाट सदस्यहरुको स्वागत हुन्छ । दलहरुले सहमतिबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने भएकाले सर्वदलीय बैठकमा नै टुंगो लागेको खण्डमा भने पहिलो बैठकबाटै सभामुखको निर्वाचनको प्रक्रिया प्रारम्भ हुनसक्ने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
सभामुखका लागि दलीय पद्धतिमा दलअनुसारका प्रस्ताव पेश हुनेछन् । तर संसदले सांसदलाई दलभन्दा सांसदको हैसियतबाट मात्रै चिन्ने भएकाले कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गरेपछि सभामुख चुन्ने प्रक्रिया अगाडी बढ्नेछ ।
निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा ज्येष्ठ सदस्यले गर्नुहुनेछ ।
सभामुख छानिएपछि प्रतिनिधिसभाको बैठकबाटै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया पनि अघि बढ्नेछ । संविधानको धारा ७६ को १ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ । उहाँकै अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ ।