समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु

मुख्य खबर आइतवार मंसिर २५, २०७९

काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु भएको जनाएको छ । प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी बताउनुभयो । आयोगले भोलीसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गरिने बताएको छ ।

राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिटमा सांसद्हरुको नामावली बुझाएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

पहुँचवालाकै पकड

पहुँच नपुगेको क्षेत्र व्यक्तिलाई संसदमा पुर्याउनका लागि समावेशी सिद्धान्तको आधारमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको भए पनि पहुँचवालाकै पकड देखिएको हो । दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदहरुको सूचीमा पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेता, नेताका आफन्त तथा नेतृत्वलाई रिझाउन बारम्बार उनीहरुको अघिपछि हुनेहरु देखिन्छ ।

क्लस्टर अनुसार प्रतिनिधित्व गराउनुपर्ने र सङ्घीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्यताका कारण महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, थारु, पिछडिएको क्षेत्रको प्रतिनिधित्व भने गराउनैपर्ने संवैधानिक बाध्यता दलहरुले पालना गरेका भए पनि त्यसभित्र पनि पहुँचवालाकै प्रवेश देखिएको हो ।

समानुपातिक प्रणालीमा सबैभन्दा धेरै मत पाएको एमालेबाट स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्त, नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री एकनाथ ढकाल, व्यवसायी देवीबहादुर भट्टचन, उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापा, अघिल्लो प्रतिनिध सभामा जसपाबाट सांसद रहेकी अमृता अग्रहरि लगायतका नेताहरु समानुपातिक कोटामा सांसद बनेका छन् ।

दोस्रो मत पाएको नेपाली कांग्रेसबाट पार्टी उपसभापति र उपप्रधानमन्त्री भइसक्नुभएका विमलेन्द्र निधि, पार्टी प्रवक्ता, पूर्वमन्त्री डा प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार, सभापति देउवाकी पत्नी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण लगायतका व्यक्ति समानुपातिक सांसदमा सिफारिस भएका छन् ।

यस्तै, माओवादी केन्द्रबाट मन्त्री भइसकेका पार्टी सचिव हितराज पाण्डे, रातो पासपोर्ट दुरुपयोगको मुद्दामा दोषी ठहर भएका नेता शिवपुजन रायकी पत्नी मीना यादव लगायतमा सांसदमा सिफारिस भएका छन् । राप्रपाबाट पूर्वअध्यक्ष, पटक पटक मन्त्री र सांसद भइसकेका पशुपतिशम्शेर जबरा, पूर्वमन्त्री बुद्धिमान तामाङ र नेता रोशन कार्की समानुपातिक सांसद बनेका छन् ।

Leave a Comment