काठमाडौं । समानुपातिकतर्फ सिट प्राप्त गरेका दलले मंसिर २४ गते शनिबार ४ बजेसम्म समानुपातिक सांसदको नाम पेस गरिसक्नुपर्ने भएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम छनोट गरेर आयोगमा पेश गरिसक्ने समयसीमा दिएको हो ।
आयोगले थ्रेसहोल्ड कटाएका प्रतिनिधि सभाका ७ वटा दल र ७ वटै प्रदेशका फरक–फरक संख्यामा रहेका दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहअनुसारको संख्या र महिलाको संख्यासहितको पत्र दललाई पठाएको हो ।
तीन दिनको समयसिमा दिएर पत्राचार गरिएको आयोगका उपसचिव एवम समानुपाकितर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा सातवटा दलले थ्रेस होल्ड कटाएका छन् । जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।
प्रतिनिधि सभाको समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपा र जनमतले पनि ५–५ सिट प्राप्त गरेका छन् ।समावेशी प्रतिनिधित्व हुने गरी दलले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पेश गर्नुपर्नेछ । त्यसपछि मात्रै दलले पठाएको नामबाट आयोगले विजयी भएको प्रमाणपत्र समानुपातिक सांसदलाई दिनेछ । प्रदेशतर्फ पनि दलले तीन दिनभित्र नाम छनोट गरेर पठाइसक्नुपर्ने छ ।
प्रदेशमा भने १.५ प्रतिशत ल्याउनेले सिट पाउने व्यवस्था छ । प्रदेश १ मा ६ वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।प्रदेश १ मा एमाले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, नेकपा एस र जसपाले १–१ सिट पाएका छन् । मधेस प्रदेशमा १० वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।बागमती प्रदेशमा सात वटा दलले थ्रेसहोल्ड कटाएका छन् ।
गण्डकी प्रदेशमा चारवटा दलले मात्र थ्रेसहोल्ड कटाएका छन् । लुम्बिनी प्रदेशमा १० वटा दलले समानुपातिकबाट प्रतिनिधित्व गर्ने भएका छन् । कर्णाली प्रदेशमा पाँचवटा दलले थ्रेसहोल्ड कटाएका छन् ।सुदूरपश्चिम प्रदेशमा छ वटा दलले थ्रेसहोल्ड कटाएका छन् ।