भावी प्रधानमन्त्रीका लागि कांग्रेसभित्र संघर्षको संकेत, प्रचण्डलाई फाइदा पुग्न सक्ने !

फिचर बिहिबार मंसिर ८, २०७९

काठमाडौं । जारी मतगणनाबाट कुन पार्टीको कति सिट आउला ? सत्ता गठबन्धन, विपक्षी गठनबन्धन कसले बहुमत ल्याउला ? स्पष्ट चित्र अझै आइसकेको छैन । तर, सत्तागठबन्धनका दलभित्र प्रधानमन्त्रीको दौड सुरु भएको छ । नेपाली कांग्रेसमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले खुल्ला रुपमा प्रधानमन्त्रीको दोवेदारी प्रस्तुत गर्नु भएको छ भने थप चार जनाले आन्तरिक दौड सुरु गरेका छन् ।

निर्वाचन परिणाम आउने क्रमसँगै नेताहरूले संसदीय दलको नेतृत्व लिने तयारी थालेका छन् । सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । वरिष्ठ नेता पौडेलको जीत पनि निश्चित छ । कांग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था छ ।

महामन्त्री थापाले निर्वाचित भएलगत्तै आफू संसदीय दलको नेताको तयारीमा लागेको घोषणा गरिसकेपछि देउवालाई चुनौती बनेको छ । थापाले निर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै मत माग्नु भएको थियो । थापाको प्रस्तावलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्दै उहाँलाई आफूले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताउनु भएको थियो । दुई महामन्त्री एक ठाउँमा उभिएको र देउवाका नजिकका व्यक्ति मध्ये केहीले पराजय भोगेकाले देउवालाई सबैभन्दा बढी थापा नै चुनौती बन्ने देखिन्छ ।

निर्वाचित भएपछि सिंहले पनि आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गरिसक्नु भएको छ । ०७४ को निर्वाचनमा नै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्नु भएको थियो । बरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै प्रधानमन्त्रीको दौडमा पराजय भोगिसकेकाले उहाँको दावी प्रखर रुपमा आउने निश्चित छ । कांग्रेसबाठ शेखर कोइराला पनि यसपटक संसदीय दलको नेता लड्ने तयारी गरिसक्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहाना राख्नु भएको छ । कांग्रेसमा आन्तरिक विवाद भए त्यसको फाइदा प्रचण्डले लिन सक्ने सम्भावना छ । गठबन्धन र माओवादी केन्द्रलाई अपेक्षित मत आउन नसकेपछि प्रचण्डमाथि दबाब भने बढेको छ ।

एमालेबाट ओली नै प्रधानमन्त्रीका दाबेदार
एमालेले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी ओलीलाई अगाडि सारेर निर्वाचनमा होमिएको थियो । एमालेले निर्वाचनअघि नै ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मत निर्णय गरिसकेको छ । परिणामले एमाले दोस्रो पार्टी बन्ने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा गडबड र नयाँ समीकरण बने ओलीलाई प्रधानमन्त्री बन्ने विकल्प खुला हुनेछ ।

 

Leave a Comment