आज पाहाडी र हिमाली क्षेत्रमा मौसम केही फेरबदल हुने भएको छ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेका मौसम विद् समिर श्रेष्ठले नेपालएफएम नेटवर्कलाई जानकारी दिनुभयो । देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले २४ घण्टामा ती क्षेत्रका नागरिकले सजगता अपनाउनुपर्ने मौसम विद्हरुले बताएका छन् । मौसम फेरबदलसँगै चिसो पनि बढिरहेको छ। बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ । काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना त छ तर निकै न्यून रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।