निर्वाचन आयोगले उमेदवारलाई निर्वाध प्रचारप्रसारको वातावरण निर्माण गर्न निर्देशन दिएको छ । आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत निर्देशन दिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उमेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले निर्देशन दिएको हो । डडेलधुरा, झापालगायत विभिन्न जिल्लामा निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा उमेदवारलाई अवरोध भएपछि आयोगले यस्तो निर्देशन दिएको हो । निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने भन्दै आयोगले सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौम जनताको मत र विश्वास माग गर्ने उमेदवार दुवै कानुनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहने जनाएको छ ।