डोटीमा भूकम्पका कारण ६ जनाको मृत्यु, डोटी, अछाम, बझाङमा दर्जनौ घरमा क्षति

मुख्य खबर NFM संवाददाता बुधबार कार्तिक २३, २०७९

डोटी । डोटीमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नेपाल एफएमलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उहाँकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ । त्यसै ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उहाँकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्पले पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

बुुधबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का सुदूरपश्चिमका ९ ओटै जिल्लामा महसुस गरिएको थियो । अछाम, बाजुरा, बझाङमा पनि मान्छेहरु घरबाहिर निस्किएको र केही घरमा क्षति पुगेको स्थानीयले जानकारी दिएको छन् ।

Leave a Comment