काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै राखिने भएको छ । जिल्ला अदालत काठमाडौंको आदेशपछि केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले शुक्रबार सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै सन्दीपलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
गत मंगलबारदेखि जारी निरन्तर सुनुवाइको क्रममा शुक्रबार पीडितको पक्षबाट जवाफी बहस सकिएसँगै जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनुभएको हो । थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपलाई थुनामा राख्ने आदेश दिएको हो ।
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले जवाफी बहस सकेपछि आदेश आएको हो। लामिछानेले ५ भदौमा होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो ।
एक महिनासम्म अमेरिकामा लुकेका उनी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० मा डिफ्यूजन नोटिस जारी भएपछि आत्मसमर्पण गर्ने भन्दै २० असोजमा काठमाडौं फर्किएपछि विमानस्थलबाटै पक्राउ गरेको थियो ।