निर्वाचन आचारसंहिता उल्लंघन विरुद्ध आक्रमक बन्दै निर्वाचन आयोग

मुख्य खबर NFM संवाददाता बुधबार कार्तिक १६, २०७९

काठमाडौं । निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने क्रम बढेसँगै निर्वाचन आयोग पनि कारवाहीका लागि आक्रमक बनेको छ । निर्वाचन आयोगले उम्मेदवारदेखि सरकारी, सार्वजनिक पदमा बसेहरुमाथि निगरानी बढाएको छ । निर्वाचन आयोगले चुनावका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा मंगलबार एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ ।

आयोगले लाभको पदमा रहेका, चुनावका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्ला–बेग्लै पत्र पठाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । चुनाव प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पत्तिको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहीता विपरीत हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

जनशक्ति परिचालित
निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालित हुने भएका छन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ ।

Leave a Comment