नेपाली कांग्रेसको महत्वकांक्षी घोषणापत्र सार्वजनिक

मुख्य खबर NFM संवाददाता शनिबार कार्तिक १२, २०७९

काठमाडौ । नेपाली कांग्रेसकोले महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचका लागि घोषणापत्र सार्वजनिक गरेको हो । चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ’संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य भन्ने नारा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।

५२ पृष्ठको घोषणापत्रमा कांग्रेसले सङ्घीय संसद् र प्रदेश सभामा बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र सङ्घीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाइ प्रदेश र पालिकाको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले प्रतिनिधि सभालाई विघटन नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सार्वजनिक खर्च कटौती, सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यतासहितका मापदण्ड लागू, स्वदेशी उत्पादन र उपभोगमा वृद्धि, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी सुधार र कार्यान्वयन, विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित जस्ता काम गर्ने कांग्रेसको प्रतिबद्धता रहेको छ ।

कांगे्रसले ५० युनिटसम्म बिजुली निःशुल्क गर्ने र सरकारी कागजपत्रको होम डेलिभरी गर्ने उल्लेख गरेको छ । सुत्केरी भत्ता ५ हजार पु¥याउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । ७ प्रतिशतको आर्थिक वृद्धि गरी साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने पनि कांगे्रसले जनाएको छ । महिलालाई गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था र विपन्नलाई १० हजार किरिया खर्च दिने कांग्रेसको घोषणा छ ।

घोषणा पत्रमा ३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय घोषणा पत्रमा समावेश गरिएको छ । कांग्रेस नेता डा. स्वर्णिम वाग्लेका अनुसार ५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गरिने, स्वास्थ्य बिमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ ।

भारतसँगको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । चीनसँग पनि हुम्ला जिल्लामा सीमा विवाद देखिएको र त्यसलाई समाधान गर्नका लागि कूटनीतिक प्रयास गरिने घोषणापत्रमा लेखिएको छ । कांग्रेसले आफ्नो राष्ट्रियताको मुद्दामा भूगोल र जनता रहने स्पष्ट पारेको छ ।

निर्वाचनबाट आफ्नो नेतृत्वमा सरकार गठन भएमा आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ । वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको हो ।

भविष्य केन्द्रित योजनालाई कांगे्रसले प्राथमिकता दिएको छ । नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गर्नुभयो । वाग्लेले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्रका रूपमा चर्चा गर्दै दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखिएको बताउनुभयो ।

युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि उहाँको भनाइ छ ।

त्यस्तै नेपाली कांगे्रसले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको वाग्लेले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताउनुभयो । उहाँले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्त्व गराएको बताउनुभयो । उहाँले भविष्यलाई ध्यान दिएर घोषणा पत्र बनाएको बताउनुभयो ।

नेपाललाई नवीनतम प्रविधिमैत्री बनाउन वर्तमान दर्ता, कर, निर्यात, प्रतिलिपि अधिकार, साझेदारी र वैदेशिक लगानीको सीमा लगायतका नीतिगत प्रक्रियामा सहजीकरण गरिने कांगे्रसले जनाएको छ ।

Leave a Comment