महँगा वस्तुको आयातमा प्रतिबन्ध लाग्दा पनि विदेशी मुद्रा सञ्चिति भने घटिरहेको छ । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले हाल ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध लगाएको छ । ५ महिनादेखि यी वस्तुको आयात प्रतिबन्ध रहिरहे पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा सुधार देखिएको छैन । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार दुई महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ । गत असार मसान्तसम्म मुलुकसँग कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आउँदा थप २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । २ महिनामा अमेरिकी डलरमा यस्तो सञ्चिति २ प्रतिशत घटेको छ । असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति भदौ मसान्तसम्म ९ अर्ब ३५ करोड कायम भएको छ ।