प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन १ महिना मात्र बाँकी हुँदा देशैभरी चुनावी चहलपहल बढेको छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार मत माग्नका लागि घरदैलो कार्यक्रममा ब्यस्त भएका छन् । मत माग्न आफ्नो क्षेत्र पुगेका उम्मेद्वारहरुले कृषि क्षेत्रको विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनका क्षेत्रमा व्यापक रुपमा सुधार गर्ने प्रतिबद्धता बाँडिरहेका छन् । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक तयारी गरिरहेका छन् । आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् ।