संस्कृतिविद् सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेक्रम जारी

Breaking आइतवार अशोज ३०, २०७९

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजबीचको बैठकको निर्णय अनुसार जोशीको शवलाई १२ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि अन्तिम श्रद्धाञ्जलीको लागि ललितपुर महानगर पालिकाको कार्यालयमा राखिएको छ । अहिले श्रद्धाञ्जलीका लागि विभिन्न शीर्ष नेताहरु लगायत सर्वसाधरणको भीड लागेको छ । जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ । जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । १०३ वर्षको उमेरमा निधन भएका उहाँ मुटु र प्रोस्टेटको समस्याबाट पीडित हुनुहुथ्यो । उहाँको पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको छ । उहाँको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ । उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनु भएको थियो ।

Leave a Comment