पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा गुडिरहेको बसमा आगलागी भएको हो । कराँची पोर्ट सिटीबाट हैदराबादसँग जोड्ने मोटरवेमा घटना भएको हो । घटनामा १० जना घाइते भएको बताइएको छ । बसमा करिब ३५ जना यात्रा गरिरहेका थिए । बसमा दादु जिल्लाका बाढी पीडितहरु रहेको जनाइएको छ । बाढीको समस्या सामान्य हुँदै गएपछि आश्रयस्थलबाट घर फर्किरहेको बेलामा बस दुर्घटनाग्रस्त भएको हो । उनीहरुले घर फर्कनका लागि निजी सवारी प्रयोग गरेका थिए । दादु सिन्ध प्रदेशको सबैभन्दा बढी बाढी प्रभावित जिल्ला हो । बसमा कसरी आगलागी भयो भन्ने विषयमा कुनै तथ्यहरु नआएको पनि समाचारमा जनाइएको छ । प्रहरी अधिकारीले भने बसमा विद्युत् सर्ट भएर आगालागी भएको बताएको छ ।