नेकपा एमालेका नेता भीम रावलले पार्टीभित्र विधिको कुरा उठाएकैले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको आरोप लगाउनुभएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको चरम कुण्ठा, गुटबन्दी र पार्टीलाई तानाशाही तरिकाले चलाउने निर्णयको आलोचना गरेकैले आफूलाई हेलाहोचो गरेको र चुनावमा टिकट समेत नदिएको आरोप लगाउनुभएको हो । अछामको जिल्ला कमिटीले आफ्नो एकल नाम सिफारिस गर्दा पनि ओलीले टिकट नदिनु अछामी कार्यकर्ताको अपमान भएको पनि रावलको जिकिर छ । ओली एमालेको नेतृत्वमा आएदेखि पार्टी ध्वस्त हुँदै गएको आरोप लगाउँदै नेता रावलले अझै पनि यस्तै व्यवहार भएमा पार्टी विघटनको संघारमा पुग्ने चेतावनी दिनुभयो । अध्यक्ष ओलीले लामो समयसम्म एमालेमा रगत पसिना बगाएकालाई टिकट नदिएर विगतमा एमालेको खेदो खन्ने, विदेशीका एजेन्ट, धनाढय र अध्यक्ष ओलीका आफन्त र जयजयकार गर्नेहरुलाई टिकट दिनु कहाँको र कुन सिद्धान्त हो ? भनेर रावलले प्रश्न पनि गर्नुभएको छ । उहाँले एमाले पार्टी भने नछोड्ने घोषणा गर्नुभयो । त्यस्तै उहाँले आउँदो चुनावमा आफूले एमालेका उम्मेदवारलाई जिताउनका लागि कसैलाई पनि आग्रह नगर्ने र मत नमाग्ने घोषणा गर्नुभएको छ । उहाँले अहिले धेरै ठाउँमा एमाले पार्टी बनाउन रगत पसिना बगाएका भन्दा पनि हिजोका प्रतिगामी र पार्टीभित्र चाकरी गर्नेहरू उम्मेदवार बनेको भन्दै एमालेका उम्मेदवारका नाममा मत माग्न नसक्ने बताउनुभयो ।
विधिको कुरा उठाएकैले अध्यक्ष ओलीले टिकट नदिएको एमाले नेता भीम रावलको टिप्पणाी
