ललितपुर । नेपाली काग्रेस प्रदेश उपसभापति जगतलाल महर्जनले प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । ललितपुर क्षेत्र नम्बर ३(१) बाट उहाँको उम्मेदवारी परेको हो । नेपाली कांग्रेसमा रहेर लामो समय काम गर्दै आउनुभएका उहाँ दलहरुको सत्ता केन्द्रित रानजीतिप्रीत असन्तुष्टी जनाउँदै उम्मेदवारी दिएको बताउनुभएको हो ।
पार्टीप्रति वितृष्णा आइसकेको र यसरी हुँदैन भनेर नयाँ ढंगले परिमार्जन गर्नुपर्ने हुँदा आफ्नो उम्मेद्वारी स्वतन्त्र रुपले दिएको बताउनुभयो । नेपाल एफएम नेटवर्कसँगको कुराकानीमा ललितपुर क्षेत्र नम्बर ३(१) का उपसभापति महर्जनले जनताको माग र चाहना बमोजिम पनि आफ्नो उम्मेद्वारी आवश्यक ठानेकोे बताउनुभयो । पार्टीमा सही स्थान र टिकट नपाएर नभई दलहरुले सत्ता केन्द्रित राजनीति गरेको र पार्टीलाई आफ्ना मान्छेहरु भर्तीकेन्द्र बनाएका कारणले गर्दा त्यसको प्रतिवादमा विद्रोह गरेर आफूले स्वतन्त्र उम्मेद्वारी दिएको बताउनुभयो ।
लामो समयदेखि सामाजिक सेवामा सक्रिय उहाँ आर्थिक र सांस्कृतिक विकासका निम्ति पनि लागिरहनुभएको छ । विभिन्न संघ संस्थामा आवद्ध भएर आफ्ना भेगका र आफ्ना क्षेत्रका जनतालाई धेरै कुरामा टेवा पुर्याएकाले आफ्नो क्षेत्रका जनताले अमूल्य मत दिएर निर्वाचित गराउने उहाँको विश्वास छ ।उहाँले ललितपुर क्षेत्र नम्बर ३(१) लाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन चाहेको बताउनुभयो । अवसर र जनताको साथ पाए स्वास्थ्य, शिक्षा, विकाश र रोजगारको क्षेत्रमा आक्रामक रूपमा लाग्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।