काठमाण्डौ महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । गएको वर्षभन्दा कोरोना महामारी कम रहेकाले सहजरूपमा जात्रा गर्न लागिएको हो । प्रत्येक वर्ष कोजाग्रत पुर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।तीननारायण एवम् कहीँ नभएको जात्रा हाँडीगाउँमा समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले गएको वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उहाँले सुनाउनुभयो । देशका अरु ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारि गरिने र हाँडीगाउँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । नारायणको जात्रा कमलासनको तीन खट बनाएर खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाएर गजुर घुसारेको ठाउँमा पूजा गरिन्छ । यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ ।