कालीकोटको राचुलीमा मलामी गएका १५ मध्ये १३ जना पहिरोमा बेपत्ता

Breaking सोमवार अशोज २४, २०७९

कालीकोटको राचुलीमा मलामी गएका १५ मध्ये १३ जना पहिरोमा बेपत्ता, २ जना सम्पर्कमा आएका छन् । तिलागुफा ४ राचुलीमा हिजो दिउँसो मलामी गएका १५ जनामध्ये १३ जना पहिरोमा पुरिएर अझै बेपत्ता छन् । २ जना भने सम्पर्कमा आएका छन् । पहिरोमा परेका टेकराज शाही र अबराज शाही सुरक्षित स्थानमा आइसक्नुभएको छ । स्थानीय २२ वर्षीय युवक हेमराज शाहीको अस्ति घरमै मृत्यु भएपछि हिजो मलामी गएकाहरू तिला नदीको किनारामा आएको पहिरोमा परी बेपत्ता भएका हुन् । पहिरो आएर तिला नदीमा मलामीलाई बेपत्ता बनाएको तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । कालीकोटको तिलागुफा ४ राचुलीमा १३, वडा नं ७ बालीगाउँमा ५, वडा नं ६ भैसैगोडामा एक र सान्नीत्रिवेणी ८ मुम्रामा १ गरी २२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरूको खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । राचुली गाउँभन्दा तल बग्ने तिला नदीमा शव लिएर गएका मलामी नदीको किनारामा पुगेपछि माथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता बनेको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताउनुभयो । पहिरोमा सम्पर्कविहीन भएकामध्ये २ जना पौडी खेलेर बाँचेको जानकारी आएको डीएसपी रिमालले बताउनुभयो । उहाँका अनुसार पहिरोमा परी बेपत्ता हुनेहरूमा तिलागुफा नगरपालिका ४ का ५६ वर्षीय वडाध्यक्ष परबहादुर शाही, सोही वडाका २३ वर्षीय प्रशान्त शाही, २४ वर्षीय नरेश शाही, ४१ वर्षीय मोलिलाल शाही, ५७ वर्षीय मानबहादुर शाही, २३ वर्षीय खेमराज शाही, ७६ वर्षीय बलिबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, २८ वर्षीय खगेन्द्र शाही, ३६ वर्षीय छत्रजंग शाही, ६३ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही हुनुहुन्छ । स्थानीय र प्रहरीले पहिरो वरपर खोजी गरे पनि बेपत्ता भएकाहरू भेटिएका छैनन् । त्यस्तै सान्नीत्रिवेणी ८ का १६ वर्षीय कमलको पहिरोमा परी मृत्यु भएको छ । पिपिरी खोलामा आएको पहिरोले पुरिएर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Comment