प्रतितिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै

मुख्य खबर NFM संवाददाता आइतवार अशोज २३, २०७९

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनीधिसभा र प्रदेशसभाका लागि आज प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ ।

७७ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ३ सय ३० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले आइतबार मनोनयन दर्ता गर्नेछ । यसका लागि बढीमा २५ जना १० वटा झन्डासहित जान पाउने आचारसंहिता आयोगले जारी गरेको छ । अविरल वर्षा, बाढीपहिरोलगायत विपद्का कारण कतिपय स्थानमा आवतजावतमा कठिनाइ भएमा आयोगले सहजीकरण गर्नेछद्ध ।

त्यसका लागि मनोनयनपत्र दर्ता प्रयोजनका लागि दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्रलगायतका अत्यावश्यक कागजात आइतबार १० बजेभित्र आयोगको कार्यालय कान्तिपथ, काठमाडौंमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाई आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सुरक्षा कडा
आयोगले उम्मेदवार मनोनयन दर्ताको दिन सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह समेत गरेको छ । त्यसैगरी आयोगले सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरुलाई मनोनयन दर्ता कार्यक्रमलाई ब्यबस्थित, मर्यादित र भयरहित ढंगले अघि बढाउन आयोगले निर्देशन दिएको छ ।

कार्यतालिका
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको सूची साँझ ७ बजेसम्म सार्वजनिक गर्ने कार्यक्रम छ । उम्मेदवारको विरोधमा सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिन्छ । त्यस्तै, सोमबारै ३ बजेदेखि मंगलबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीको जाँचबुझ गरी निर्णय लिने निर्वाचन कार्यक्रम रहेको छ ।

मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नुपर्ने हुन्छ । बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ । असोज २७ देखि उम्मेदवारहरू निर्वाचन प्रचारमा जान सक्छन् ।

Leave a Comment