काठमाडौं । सिट बाँडफाँटमा सत्ता गठबन्धनका दलसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टीले गठबन्धनसँगको सहकार्य ताडेर एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । गएराती १२ बजे दुई पार्टीबीच सहमति भएको दावी गरेका छन् ।
एमाले नेता रघुवीर महासेठको काठमाडौंस्थित निवासमा जसपाको तर्फबाट उपेन्द्र यादवसहितका नेताहरू र एमालेको शीर्ष नेताहरूबीच चुनावी तालमेलको सहमति भएको छ ।
जसपाले २५ सिट मागेकोमा २० दिनेगरि एमालेले सहमति गरेको एमालेका एक नेताले जानकारी दिनुभयो । पाँच क्षेत्रमा भने दुईपार्टीबीच प्रतिस्पर्धा हुनेछ । धनुषा २, बारा २, ३ बाँके २ र रुपन्देही ४ लगायतको केही क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि सहमतिको भएको एक नेताले जानकारी दिनुभयो ।
गएराती भएको सहमति आज सार्वजनिक गरिने नेताहरुले बताएका छन् । जसपाले २५ क्षेत्र माग गरेको थियो । तर, केही क्षेत्रमा दोहोरो दाबी भएपछि जसपाले दाबी घटाएको हो । जसपाले प्रदेश १, मधेस प्रदेश, लुम्बीनीका क्षेत्रमा बढी सिट पाउनेछ । मोरङ र सुनसरीमा एक–एक सीट प्रतिनिधिसभामा पाउनेछ ।
मधेस प्रदेश अन्तर्गत जसपाले सप्तरीमा २, सिरहामा २, धनुषामा १,महोत्तरीमा ३,सर्लाहीमा २, रौतहटमा २,बारामा २ र पर्सामा २ सीट पाउने दावी गरिएको छ । लुम्बिनीमा पश्चिम नवलपरासी,रुपन्देही,बाँके र कपिलवस्तुमा एकएक सीट जसपाले पाउने भनिएको छ । सहमति आधिकारीक रुपमा बाहिर ल्याइएको छैन ।