काठमाडौं । क्षेत्र अनुसार एकले अर्कालाई सहयोग गर्नेमा सहमति नजुटेपछि सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । हिजो गठबन्धन नेताहरु दसैं मनाएर प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । दुईपक्षिय र सामुहिक छलफलमा दलहरुले आफ्नो अडान नछाडेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो । कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो । कांग्रेस नेता रमशे लेखकले केही क्षेत्रमा समसया भएपनि सहमतिको प्रषस भइरहेको बताउनुभयो । यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादी र जसपाको अडानका कारण सहमति पुग्न नसकिएको बताउनुभयो ।
जसपाले धनुषा र सप्तरीका केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि प्रस्ताव राखेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अडान पनि सहमतिको बाधक बनेको छ । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ । तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।
प्रदेशसभाको सिट बाँडफाँट पनि पेचिलो देखिएको छ । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि गठबन्धनको विकल्पमा जसपाले अन्य पार्टीसँग पनि तालमेलका लागि संस्थागत रुपमा ढोका खुला गरेको छ । सहमतीका लागि आज बिहान ९ बजे फेरि बस्ने भएको छ ।
उम्मेदवार टुंगो
राजनीतिक दलहरुले जिल्ला तथा प्रदेश कमिटीमार्फत सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस मागेका थिए । तल्ला तहबाट सिफारिस आएको एक महिना हुँदा पनि उम्मेदवार भने टुंगो लगाएका छैनन् । निर्वाचन आयोगले २३ गते उम्मेदवारी दर्ताको समय तोके पनि आकांक्षी धेरै हुँदा दलहरुले चयन नै गर्न सकेका छैनन् । उम्मेदवार छान्न सत्ता गठबन्धन दललाई निर्वाचन क्षेत्र बाँडफाँट सबैभन्दा चुनौती देखिन्छ ।