भत्ता वितरणमा लोकप्रियता खोज्दै स्थानीय सरकार, बैंकहरुलाई सास्ती

आर्थिक NFM संवाददाता बुधबार भदौ २९, २०७९

काठमाडौ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन बैंक तथा वित्तसंस्थासंग काठमाण्डौंमा छलफल तथा अन्तरक्रिया गरेको छ । सामाजिक सुरक्षा भत्ताकालागि छुट्याईएको धेरै रकम बैंकमै थन्किएकाले त्यसलाई प्रभावकारी रुपमा वितरण गर्न तथा समसामयिक सवालहरुमा छलफलका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।

सेवाग्राहीहरुले समयमा नै भत्ता रकम नपाएको, अशक्त, अति वृद्धवृद्धाहरुले धेरै सास्ति खेप्नुपरेको गुनासो बढिरहेको बेला विभागले बैंकहरुसंग छलफल गरी भत्ता वितरणमा अन्तरबैंक एकरुपता कायम गरी सहजता ल्याउन खोजेको हो ।
भत्ता वितरणलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई एटिएम दिनुपर्ने, चेकबुकको संख्या बढाउनुपर्ने, बैंकले सेवाग्राहीको खातामा ७ दिन भित्र पैसा जम्मा गरीदिनुपर्ने प्रस्ताव विभागले राखेको छ ।

त्यस्तै अशक्त तथा ९० वर्ष भन्दा माथिका व्यक्तिलाई स्थानीय तह र बैंकको सहमतिमा भुत्तानी शिविर, शाखा रहित बैंक, मोवाइल बैंकिङ्ग, सहकारी मार्फत भुक्तानी जस्ता विशेष व्यवस्था गरी भक्तानी दिदा सहज र प्रभावकारी हुने पनि विभागको धारणा छ ।

बालबालिका वा पूर्ण असक्त, अपाङ्गता भएका व्यक्तिको संरक्षक सहितको संयुक्त खाता वा संरक्षक मार्फत भत्ता भुक्तानी गर्ने व्यवस्था गर्दा भत्ता वितरणलाई सहज बनाउन सकिने पनि छफलफमा उठेको थियो ।

सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत प्रभावकारी रुपमा वितरणकालागि सबै स्थानीय तहबाट तदारुपता देखाइरहेका बेला केही स्थानीय जनप्रतिनिधीहरुले लोकप्रियताका लागि घरघरमै भत्ता वितरण गर्न चासो देखाएका तर स्थानीय तहमा न्यून जनशक्तिका कारण कामगर्न कठिन भइरहेको गुनासो बैंकको छ । सामाजिक सुरक्षाको लागि खोलिएको बैंक खातामा भत्ता रकममात्र जम्मा गर्दा प्रतिवेदन प्रणाली प्रभावकारी हुने भएकाले विभागले यो विषयलाई पनि सम्बोधन गर्नुपर्ने कुरा छलफलमा उठेका छन् ।

छलफल कार्यक्रममा गृह मन्त्रालयका सह सचिव भिष्मकुमार भुषालले भत्ता वितरणलाई बैंकहरुले वोझको रुपमा मात्र नभई अबसरको रुपमा लिन आग्रह गर्नुभयो । सामाजिक सुरक्षा वितरणकै क्रममा धेरै बैंकहरुले दुर्गम स्थानमा पुग्न पाएको, बचतकर्तालाई बैंकले लगानीका लागि सेवाग्राही बढाउन मद्दत गर्ने तथा बैंकको महत्वका बारेमा ग्रामिण भेगलाई जानकारी दिन पाएको कारण यसले बैंकलाई पनि प्रत्यक्ष रुपमा फाईदा पुर्याईरहेको कुरामा पनि उहाँले जोड दिनुभयो ।

छलफलकै क्रममा विभागका निर्देशक सागरमणि पाठकले बैंकहरुले भत्ता वितरणप्रति देखाएको अपनत्वलाई सामाजिक दायित्व वहनको रुपमा लिन सकिने प्रष्ट्याउन्ुभयो । बैंकिङ्ग सिस्टममा देखिएका केही त्रुटीलाई शुद्धिकरणको आवश्यकतामा विभागका महानिर्देशक भट्टराईको जोड थियो । साथै पूर्ण बैंकिङ्ग प्रणाली कार्यान्वयनसंगै एकरुपता हुने गरी सामाजिक सुरक्षा नियमावली तथा कार्यविधी संसोधन प्रक्रिया अगााडि बढाउनेमा पनि उहाँले जोड दिनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय स्तरका क, ख र ग वर्गका ५४ वटा बैंकका प्रतिनिधीहरु सामेल थिए ।

Leave a Comment