काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले पोलिटव्युरो बैठकमा लिखित प्रस्ताव राख्नु भएको छ । फेरि एकपटक वामपन्थी शक्तिहरु एक हुनुपर्ने धारणासहित उहाँले फरक प्रस्ताव पेश गर्नु भएको हो ।
बिहीबारदेखि सुरु भएको पोलिटव्युरो बैठकमा नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनर्स्थापनाका लागि वाम मोर्चा बनाउन भूसालले पेश गरेको ४ पृष्ठ लामो प्रस्तावमा उल्लेख गरेका छन्।
उहाँले स्थानीय तहको चुनावी परिणामलाई गम्भीर रुपमा लिन पनि अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनु भएको छ । अहिले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन्। कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेको भूषाले प्रतिवेदनमा लेख्नु भएको छ ।
स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ। त्यसको अर्थ संसदमा दुईतिहाइभन्दा बढी हो। वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै देखिएको उहाँको दावी छ ।
भूषालले बैठक ढिलो भएकोमा पनि आपत्ति जनाउनु भएको छ।