काठमाडौं । प्रहरी समायोजन गर्न माग गर्दै मधेस प्रदेश सरकारले नै आन्दोलन सुरु गरेको छ । मधेशका मुख्यमन्त्री लालबाबु राउत सहित मन्त्रीहरूले धर्ना सुरु गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय अगाडि मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा बस्नु भएको छ । आइतबार बिहान कार्यालय खुलेसँगै धर्ना सुरु भएको हो ।
प्रदेश सरकारको नेतृत्वमा एक सातासम्म प्रत्येक दिन दुई घण्टा धर्नामा बस्ने कार्यक्रम रहेको छ । त्यसपछि पनि संघीय सरकारले प्रहरी समायोजनाको प्रक्रिया अघि नबढाए अर्को चरणको आन्दोलन गर्ने मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले जानकारी दिनुभयो ।
संविधानको धारा २६८ ले प्रदेश प्रहरीको सङ्गठन व्यवस्थापन गरेको तथा संविधानकै अनुसूची ६ को क्रम सख्या १ मा शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र उल्लेख रहेकाले संविधानको कार्यान्वयन तथा प्रदेशमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि चुनाव अगाडि नै प्रहरी समायोजन हुनु पर्ने माग गरिएको छ।